विश्वमा शक्तिशाली बन्दै भारत

विपुल कुमार – भारतले जनवरी २६मा आफ्नो ६६औं गणतन्त्र दिवस मनाइरहँदा विश्वका शक्तिशाली देशहरूले पनि विश्वको राजनीतिक, आर्थिक, सामरिक क्षेत्रमा भारतलाई एक उदाउँदो शक्तिको रूपमा लिएका छन् । भारतमा राजनीतिको एक नयाँ आयामले आफ्नो आकार लिने एक सशक्त प्रधानमन्त्री र राजनीतिक दलको उदय भएको एक ऐतिहासिक राजनीतिक परिवेश पैदा भएको छ ।
 जसले भारतको आर्थिक समृद्धिका लागि साना मसिना विषयलाई पाखा लगाई दृढताका साथ अगाडि बढने एक सबल प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिएको छ । भारतका प्रधानमन्त्री मोदीले विश्वको शक्तिशाली देशहरूको मञ्चमा आफ्नो पहिलो गणतन्त्र दिवसको आयोजनामा विश्वको शक्तिशाली देश अमेरकाका राष्ट्रपति बराक ओबामालाई प्रमुख अतिथिको रूपमा बोलाएर अर्थ राजनीति र सामरिकसमेतको एकसाथ त्रिपक्षीय कुटनीतिको सिद्धहस्तता हासिल गरे । यसबाट मोदीको उचाई ह्वातै बढाएको एकथरी विश्लेषकको बुझाइ छ । यसको अन्त्र्यमा ती विश्लेषकहरूले ओबामाको खस्किदो अवस्थामा भारतले भरथेग गरेको बुझाइ प्रबल रहेको छ । यो आफैमा अस्वाभाविक पनि देखिँदैन् । 
अमेरिकी राष्ट्रपति ओबामा अमेरिकी जनतामा अरू भन्दा लोकप्रिय भएपनि उनी फेरि राष्ट्रपति पदको निर्वाचन लड्न पाउँदैनन् । दोस्रो उनले अगुवाई गरेको पार्टी अमेरिकी संसदमा कमजोर बन्दै गएको छ । साथै उनको समयावधि पनि सकिदैंछ । पदावधिको एक चौथाई बाँकी रहेको र सदनमा शक्ति गुमाएका राष्ट्रपति ओबामालाई एक लबडो बत्तखको रूपमा व्याख्या गर्ने गरिएको छ । लबडो बत्तख जसलाई अरूको सहायताको खाँचो रहेको हुन्छ यस्तो अवस्थामा अमेरिकालाई एसिया प्रशान्त क्षेत्रको सामारिक सुरक्षा व्यवस्थामा बलियो टेको चाहिएको थियो । अमेरिकाले च्याप्दै आएको पाकिस्तान अमेरिकाका लागि हैसियत गुमाएपछि एसियामा भारतभन्दा बलियो रणनीतिक साझेदार पाउन गाह्रो थियो । भारतलाई पनि एक बलियो लगानीकर्ता उसको भूराजनीतिक पृष्ठभूमिका लागि चाहिएको थियो ।भारतको यस्तो अवस्थालाई प्रधानमन्त्री बन्ने बित्तिकै चाल पाएका मोदीले गत सेप्टेम्बरमा अमेरिकाको भ्रमणका क्रममा राष्ट्रपति ओबामाको मनभित्र छिर्न भ्याइसकेका थिए । अमेरिकाबाट फर्केपछि आफ्नो बुझाई दुरूस्त पारेर ओबामालाई गणतन्त्र दिवसको अवसरमा प्रमुख अतिथिको निम्तो मोदीले गरी हालेका थिए । के खोज्छस कानो आँखा भनेजस्तै हाल लबडो बत्तखको उपनाम पाएका ओबामाले त्यो निम्तो स्वीकारी हाले । 
अनि त्यो लबडो बत्तखले भारतको सफल भ्रमण गरी फर्केको छ । ओबामाको यो दोस्रो भारत भ्रमण थियो । ओबामाले यसलाई एक विरासतको रूपमा बनाउन खोजेका छन् । भारतलाई अमेरिकासँगको सम्बन्धले एक नयाँ उचाई दिएकोमा कुनैपनि खेमाका विश्लेषकहरूको दुईमत भने छैन् । विश्वको राजनीतिक परिवेशमा भारत अमेरिकी झुकाव लिएको देखिन्छ । अमरिकी कथन छ – एक दशक अगाडि भारतमाथि एक दीर्घकालीन रणनीतिक बाजी थापेको थियो र यो भ्रमणबाट त्यो बाजीमा भारत पनि सकारात्मक प्रतिक्रिया दिन तयारी अवस्थामा रहेको छ । मोदी र ओबामाले एक विश्वव्यापी साझेदारीको घोषणा गरेका छन् । यसको अर्थ अमेरिका मात्रै यो रणनीतिक साझेदारीको एक्लो साझेदार होइन बरू विश्वभरि अमेरिका भारतको प्रमुख रणनीतिक साझेदार भएको लाग्छ । भारतमा राष्ट्रपतिको रूपमा दुई पटक भ्रमण गर्ने पहिला राष्ट्रपति पनि ओबामा बन्न पुगेका छन् । मोदी–ओबामा भेटवार्ताको सबैभन्दा महत्वपूर्ण विषय भनेको एसियामा भारत–अमेरिकाको संयुक्त रणनीतिसँगै आउनु हो । यससन्दर्भमा अमेरिका र भारतबीच एसिया प्रशान्त तथा हिन्दमहासागर क्षेत्रका लागि संयुक्त रणनीतिक परिकल्पनामा हस्ताक्षर गरिनु सहज देखिन सकिन्छ तर यो यो उदाउँदो चीनका लागि महत्वपूर्ण गुप्त सन्देश लुकेकोमा शंका भने छैन् । 
पहिलो पटक भारत र अमेरिकाले खुलारूपमा एसियामा कुनै एक शक्ति मात्र होस भन्ने चाहना आफूहरूको नरहेको जाहेर गरेका छन् । भारत र अमेरिका दुबै देशले स्वतन्त्र समुद्रीय परिवहन, सामुद्रिक सुरक्षा तथा हवाई सुरक्षाका विषयमा मिलेर काम गर्ने र विशेषगरी दक्षिणी चीनको सामुद्रिक क्षेत्रमा यस्तो संयुक्त पहल गर्ने भएका छन् । भारत अमेरिकाले सबै विवादलाई अन्तर्राष्ट्रिय कानुन अन्तर्गत हल गरिनुपर्ने विषयमा पनि जोड दिएका छन् । चीनको सामुद्रिक विवाद फिलिपिन्स, भियतनाम , जापान र इन्डोनेसियासँग जलीय विवाद रही आएको छ । विगतमा जापनसँग विवादबारे युद्ध भइहाल्नेसम्मको तनाव उत्पन्न भइसको थियो । यससम्बन्धमा भारतीय र अमेरिकी अभिव्यक्तिले मोदी र ओबामा चीनका बारेमा करिब करिब एकमत देखिन्छ । यसो विश्लेषण गरिरहँदा यो चीनको विरूद्धमा गरिने कुनै गठबन्धन भने नरहेको बुझ्नु पर्ने हुन्छ । किनभने चीन भारत र अमेरिका दुबैका एक बलिया आर्थिक साझेदार छ । अन्तर्राष्ट्रिय कानुनहरूको मर्यादालाई उल्लंघन गर्न सक्ने सम्भावनालाई ध्यानमा दिएर भारत र अमेरिकाबीचको यो रणनीतिक घेराबन्दी चीनका लागि हुन सक्ने देखिन्छ । ओबामा भ्रमणबाट अपेक्षा गरिएको महत्वपूर्ण विषय भनेको भारत अमेरिकाबीच झण्डै दश वर्ष अघि गरिएको रक्षा सम्झौतालाई थप दश वर्षका लागि नवीकरण गरिएको छ । जसले दुबै देशलाई सैन्य सहयोग अभिबृद्धि गर्न सहयोग पु¥याउनेछ । दुबै पक्षबीच चार रक्षा परियोजनाहरूको सह विकास र सह उत्पादनगर्ने विषयमा सहमति भएको छ । यो सहमतिबाट भारतलाई आफ्नो रक्षा उत्पादन दक्षताअभिवृद्धि तथा विकास गरिरहन मदत पुग्ने दरिलो आधार तय भएको बुझिन्छ । यो भ्रमणबाट नागरिक प्रयोजनका लागि परमाणु सम्झौतालाई प्रयोगमा ल्याउनका लागि अडकाइएको बाधा हटाउन सहयोग मिलेको छ । भारतलाई बेचिने परमाणु सामग्री एवं उपकरणहरूको निगरानी गर्न पाउने मागलाई अमेरिकाले फिर्ता लिएको छ ।
साथै अमेरिकी आपूर्तिकर्ताहरूलाई कानुनी मुद्दाबाट बचाउनका लागि एक सुनिश्चित सेतु तयार पार्न अमेरिकाले प्रस्ताव गरेको छ । परमाणु ऊर्जा उत्पादनसम्बन्धी विषयमा अमेरिकाबाट भारतलाई हुने सहयोगको सुनिश्चितता बढेको छ भने यसबारे पहल गर्नुपर्ने पालो अमेरिकाका ती कम्पनीहरूमा सरेको छ जसले परमाणु क्षेत्रमा काम गर्दै आएका छन् । ती कम्पनीहरूले भारतमा परमाणु बजार विस्तार गर्न पहल गर्नुपर्ने देखिन्छ । @ मधेश दर्पण फिचर सेवा–

,

0 comments

Write Down Your Responses