स्वाइन फ्लु ३५ जनामा देखियाे

काठमाडौं, १६ फागुन- स्वाइन फ्लुले महामारीको रूप लिने जोखिम बढिरहेका बेला सरकारले चौबीसै घन्टा परीक्षण सेवा दिनुपर्नेमा शंका लागेर परीक्षण गराउन आएका बिरामीसमेत जाँच्दैनजाँची फर्कन बाध्य भएका छन्। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार दुई बजे नै परीक्षण सेवा बन्द भएपछि १५ जना बिरामी जाँच्दैनजाँची फर्कन बाध्य भए। मोडल अस्पतालमा अध्ययनरत काठमाडौंकी सफला थापाले भनिन्, ‘बिरामीको सम्पर्कमा हामीलाई जानैपर्छ। रुघा लागिरेहेको छ। ज्वरो पनि आयो। त्यही भएर परीक्षण गराउन आएको, तर ल्याब बन्द भइसक्यो रे। अब कहाँ जाने होला?’ खोटाङ घर भई काठमाडौं बस्दै आएका भानुभक्त पनि टेकुको प्रयोगशालाबाट निरास भएर फर्किए। 

‘रुघाखोकी लागिरहेको छ, ज्वरो पनि आएको छ। त्यही भएर आत्तिँदै परीक्षण गराउन आएको थिएँ’, उनले भने, ‘ढिलो भएकाले परीक्षण हुन्न भन्नुहुन्छ स्वास्थ्यकर्मीहरू। यस्तो बेलामा त हामीले जुनसुकै समयमा सेवा पाउनुपर्ने हो। स्वाइनफ्लु (एन्फुएन्जा एचवानएनवान ९ पेन्डामिक) को संक्रमण पुष्टि हुने क्रम तीव्र रूपमा बढेपछि घाँटीको र्‍याल परीक्षण गराउन आउने बिरामीको संख्या ह्वात्तै बढेको छ। दैनिक ५० जनाभन्दा बढी शंकास्पद बिरामी संक्रमण परीक्षणका लागि प्रयोगशाला पुग्ने गरेका छन्। शुक्रबार नै ३९ जनामा परीक्षण गरिएको छ। तीमध्ये २१ जनामा स्वाइन फ्लुको संक्रमण पुष्टि भएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. गीता शाक्यका अनुसार शुक्रबार २१ जनामा संक्रमण पुष्टि भएको हो। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ । योसँगै पछिल्लो दुई सातामा ३५ जनामा स्वाइन फ्लुको संक्रमण पुष्टि भएको छ।

0 comments

Write Down Your Responses