नेपालमा स्वाइन फ्लु प्रमाणित हुने बिरामीको संख्या १०
नेपालमा प्रयोगशाला परीक्षणबाट स्वाइन फ्लु प्रमाणित हुने बिरामीको संख्या १० पुगेको। स्वाइन फ्लु सङ्क्रमित बढदै गएपछि भाइरसको स्ट्रेन जाति खोज्ने प्रक्रिया सुरु भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला एनपीएचएलमा परीक्षणबाट मंगलबारसम्म स्वाइन प्रमाणित बिरामीको संख्या १० पुगेको आज प्रकाशित कान्तिपुर दैनिकमा खबर छ ।
स्ट्रेन जाति हाल भारत वा गतवर्ष राजधानीमा देखिएको स्वाइनको भाइरस जस्तै छ कि फरक छ भन्ने कुरा पत्ता लगाउन भाइरोलोजिस्टलाई भनिसकेका इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले भने । यस पटक पोहोरकै जस्तो भाइरसले संक्रमण देखिएको भए राजधानीवासीमा यसविरुद्घ प्रतिरोधक क्षमता विकसित भैसक्ने बताउदै यो पटक उपत्यकाबाहिर देखिने सम्भावना बढेको मरासिनीले जानकारी दिए।
उनका उनुसार राजधानीमा गतवर्ष स्वाइन फ्लुबाट १८ जनाको मृत्यु भएको थियो भने तीन सय जनामा प्रयोगशाला प्रमाणित संक्रमण देखिएको थियो।
हालसम्मको अवस्थाअनुसार स्वाइन फ्लु संक्रमित सयमध्ये करिब एक जनामा संक्रमण कडा रूपमा देखिने सम्भावना हुन्छ। उच्च जोखिम समूहमा रहेकाहरूलाई स्वाइनबाट बचाउन विशेष सावधानी अपनाउनुपर्ने डा. मरासिनीको भनाइ छ।
अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्याङ्कअनुसार दम, श्वास रोगको समस्या भएकाहरूलाई स्वाइन फ्लुको संक्रमण हुने बढी खतरा हुन्छ।
मधुमेह, मुटु, कलेजो र स्नायु रोग भएकाहरूसमेत संक्रमणको उच्च जोखिममा रहन्छन् । गर्भवती महिला, बूढापाका र पाँच वर्षमुनिका बालबालिकामा संक्रमणको खतरा अन्यको दाँजोमा बढि हुने भएकाले सचेत हुन डाक्टरहरुको सुझाव छ।
0 comments
Write Down Your Responses