१० सुत्रिय माग सहित डा. केसी पुन अनसनमा
त्रिभुवन विश्वविद्यालयका वरिष्ठ चिकित्सक तथा हाडजोर्नी विशेषज्ञ गोविन्द केसी पुन आमरण अनसनमा बसेका छन् । १० सुत्रिय माग सहित अनसनमा बसेका केसीले विगतमा भएको सहमति कार्यान्वयन नभएको भन्दै अनसनमा बसेको बताएका छन् । उनको यो अनसन पाँचौँ पटक हो ।
आमरण अनसन बस्नुअघि आज दिउँसो शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै डा. केसीले आफ्ना माग पूरा गर्नेतर्फ सरकारले कुनै कदम नचालेका कारण आमरण अनसन बस्नुको विकल्प नभएको बताए ।
१० सूत्रीय माग पूरा गर्न १० दिनको अल्टिमेटम दिएका केसीले १० दिनको बीचमा सरकार तर्फबाट केही पनि कदम नभएकोले अनसन बस्नुको विकल्प नभएको बताएका छन् ।
डा. केसीले प्रधानमन्त्री सुशील कोइरालासमेत मेडिकल माफियाको चंगुलमा परिसकेको भन्दै अब आफ्ना माग सरकारले नभई जनताले पूरा गर्ने बताए ।
आइओएमका भ्रष्ट पूर्वपदाधिकारीहरुलाई तत्काल कारवाही गर्नुपर्ने, चिकित्सा विश्वविद्यालय सम्भाव्यता अध्ययन समिति र चिकित्सा शिक्षा राष्ट्रिय मापदण्ड निर्धारण समितिको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने, विगतका सहमति तथा सरकारको निर्णयविपरीत काठमाडौं विश्वविदालयले हालै दुई मेडिकल कलेजलाई सम्बन्धन दिएकाले त्यसका लागि जिम्मेवार केयुका पदाधिकारीलाई कारवाही गर्नुपर्नेलगायतका १० सूत्रीय माग डा. केसीले अघि सारेका छन् ।



0 comments
Write Down Your Responses