जलाशययुक्त आयोजनाका कारण ४५ हजार जनता प्रभावित हुने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित हुने स्थानीयवासीलाई बसोबासका लागि एकीकृत रुपमा नयाँ बस्ती निर्माण गरिने भएको छ । जलाशययुक्त आयोजनाका कारण धादिङ र गोरखाका ४५ हजार जनता प्रभावित हुने भएपछि नयाँ बस्ती निर्माण गर्न लागिएको हो । आयोजनाको बाँध २६३ मिटर अग्लो हुने भएकाले त्यसबाट थातथलो छोड्नुपर्ने स्थानीयवासीलाई राख्न दुवै जिल्लामा प्रभावित क्षेत्रभन्दा ३०० मिटर माथि चक्रपथ निर्माण गरी स्थानीयवासीलाई राख्ने योजना रहेको छ । बूढीगण्डकी जलविद्युत् आयोजना विकास समितिले चक्रपथ निर्माणका लागि पूर्व सम्भाव्यता अध्ययन सुरु गरेको छ । 
समितिका अध्यक्ष लक्ष्मीप्रसाद देवकोटाले केही दिनभित्रै सम्भाव्यता अध्ययनका लागि परामर्शदाता छनोट गरिने बताउनुभयो । परियोजनाबाट गोरखाका घ्यालचोक, फुजेल, नाम्जुङ, बुङ्कोट, अस्राङ, बोर्लाङ, धावा, तान्द्राङ, आरुपोखरी, आरुचनौटे, आरु अर्बाङ सबैभन्दा बढी प्रभावित हुने छन् । धादिङको सलाङ, मैदी, खरी, चैनपुर, सल्यानटार, आगिन्चोक, त्रिपुरासुन्दरी, मारपाक, मूलपानी, बसेरी र बुढाथुम गाविसको महत्वपूर्ण धान खेत तथा टारहरु पानीमुनि पर्नेछ । 
 भीमसेन थापाको बगैँचा, पुथ्वीनारायण शाहको न्वागी खाने धान खेत, प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर, मास, भटमासका लागि प्रसिद्ध मासटार, क्यामुनटार, जोगीटार, सल्यानटारको तल्लो भाग, धादिङ र गोरखाको प्रमुख व्यापारिक क्षेत्र आरुघाट बजार पनि आयोजनाका कारण प्रभावित हुनेछ । आयोजनाले प्रभावितलाई सेयर र घरजग्गाको उचित मुआब्जा दिने बताएको छ । स्थानीय राजनीतिक दलले भने ५० प्रतिशत मुआब्जा र ५० प्रतिशत सेयर दिन माग गरेका छन् ।
 बूढीगण्डकी जलविद्युत् आयोजनाका सरोकार समितिका अध्यक्ष दिनेशकुमार ढकालका अनुसार आफ्नो थातथलो छाड्नु परे पनि उचित क्षतिपूर्ति पाए सबैले सहयोग गर्नेछन् । आयोजनाको ताल हालको फेवाताल भन्दा चौध गुणा ठूलो हुने र करिब ४८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलने हुनाले पर्यटन क्षेत्रका रुपमा समेत विकास हुनेछ । भारतको उत्तराञ्चलमा रहेको टिहरी बाँधभन्दा दुई मिटर अग्लो बाँध बन्ने भएकाले आयोजनाले केही प्रभावितलाई अध्ययन भ्रमण गराउने तयारीसमेत गरेको छ । 
बूढीगण्डकी आयोजनाका कारण निर्माण हुने तालमा माछापालन, जलविहार गर्न मिल्ने भएकाले आवश्यक योजना बनाइने समितिका अध्यक्ष देवकोटाले जानकारी दिनुभयो ।

, ,

0 comments

Write Down Your Responses