एउटा आलूले ४० दिनसम्म बल्ब बाल्न सक्छ !

के बल्ब बाल्न र घरमा उज्यालो ल्याउनको लागि बिजुलीको ठाउँमा आलूको प्रयोग सम्भव छ ? शोधकर्ता राबिनोविच र उनका सहयोग पछिल्लो केही वर्षदेखि मानिसहरुलाई यही काम गर्न प्रोत्साहित गरिरहेका छन् । यो काम सस्तो धातुको प्लेट, तारहरु र एलइडी बल्बलाई जोडेर गरिन्छ । उनको दावी छ कि यो प्रविधिले दुनियाँभरका सानातिना सहर र गाउँलाई उज्यालो बनाउन सक्छ । येरुशलमका हिब्रू युनिभर्सिटीका राबिनोविच दावी गर्छन्, ‘एउटा आलूबाट ४० दिनसम्म एउटा एलइडी बल्ब बाल्न सकिन्छ ।’ राबिनोविचले यसलाई पुष्टि गर्न कुनै नयाँ सिद्धान्त अगाडि सारिरहेका छैनन् । यो सिद्धान्त माध्यमिक तहको पुस्तकमा पढाइन्छ र ब्याट्रीले यसरी नै काम गर्दछ । यसको लागि आवश्यक पर्दछ, दुईवटा धातुको टुक्रा (पहिलो एनोड, जो नेगेटिभ इलेक्ट्रोड हो, जस्तो कि जिन्क र दोस्रो हो पोजिटिभ इलेक्ट्रोड, जस्तो कि तामा) ।
 आलुको भित्र हुने एसिडले जिन्क र तामासँग रासायनिक क्रिया गर्दछ र जब इलेक्ट्रोन एउटा पदार्थबाट अर्को पदार्थतिर जान्छ, त्यतिबेला ऊर्जा पैदा हुन्छ । यसको खोज सन् १७८० मा लुइगी गेल्वनीले गरेका थिए जब उनले भ्यागूतोको मांसापेशीलाई झट्कार्दै तान्नका लागि दुई धातुहरुलाई भ्यागुताको खुट्टामा बाँधेका थिए । तर तपाईले यस्तै प्रभाव पाउनको लागि यी दुई इलेक्ट्रोडको बीचमा कैयौं वस्तु राख्न सक्नुहुन्छ । इलेक्जेन्डर भोल्टले नुनपानीमा भिजेको कागजको प्रयोग गरेका थिए । अन्य अनुसन्धानमा धातुका दुई प्लेटहरु र माटोको एक तह वा पानीको बाल्टीमा ‘अर्थ ब्याट्री’ बनाइएको थियो । सन् २०१० मा राबिनोविचले क्यालिफोर्निया युनिभर्सिटीको एलेक्स गोल्बर्ग र बोरि रुबिन्स्कीसँग मिलेर आलुबाट बिजुली निकाल्ने बिषयमा थप प्रयास सुरु गर्नु आवश्यक महसुस गरेका थिए । गोल्डबर्ग भन्छन्, ‘हामीले २० अलग अलग तरिकाबाट आलूलाई हेर्यौं र त्यसको आन्तरिक प्रतिरोधलाई जाँच गर्यौं । यसबाट हामीलाई तातो हुँदा कति ऊर्जा नष्ट हुन्छ भन्ने बुझ्न मद्दत मिल्यो ।’ आलूलाई आठ मिनेट उमाल्दा त्यसको भित्र भएको कार्बनिक तन्तु झर्न थाले । प्रतिरोध कम भयो र इलेक्ट्रान्स धेरै गतिशील हुन थाले, जसबाट धेरै ऊर्जा निस्कियो । आलूलाई चार पाँच टुक्रामा काटेर त्यसलाई तामा र जिन्कको प्लेटको बीचमा राखियो । यसले ऊर्जा १० गुना बढ्यो । यसले बिजुली उत्पादन गर्ने लागतमा कमी आयो । राबिनोविच भन्छन्, ‘यसको भोल्टेज कम भयो, तर यस्तो ब्याट्री बनाउन सकिन्छ, जसले मोबाइल वा ल्यापटप चार्ज गर्न सकिन्छ ।’ 
एउटा आलू उमाल्दा पैदा हुने बिजुलीको लागत ९ डलरप्रति किलोवाट प्रति घन्टा आयो । जुन डी–सेल ब्याट्रीभन्दा लगभग ५० गुणा सस्तो हुन्छ । विकासशील देशहरु, जहाँ मट्टितेलको प्रयोग धेरै हुन्छ, त्यहाँ पनि यो प्रविधि ६ गुना सस्तो हुन्छ । सन् २०१० मा विश्वमा ३२.४ करोड टन लागूको उत्पादन भयो । यो १३० देशमा उत्पादन गरिन्छ र स्टार्चको सबैभन्दा राम्रो स्रोत मानिन्छ । आलू सस्तो हुन्छ, यसलाई सजिलै भण्डारण गर्न पनि सकिन्छ र लामो समयसम्म राख्न पनि सकिन्छ । अहिले पनि विश्वमा १२० करोड मानिस बिजुलीबाट वञ्चित छन् र एउटा आलू उनीहरुको घरमा उज्यालो ल्याउन सक्छ । राबिनोविच भन्छन्, ‘हामीले सोचेका थियौं, सरकारले यसमा रुचि देखाउनेछ । तर त्यस्तो भएन । 
यो यसकारण पनि हुनसक्छ कि उनीहरुले यो प्रविधि बुझेकै छैनन् ।’ तर भोकमरीको सामना गरिरहेको विश्वमा आलूलाई नष्ट गरेर बिजुली बाल्ने कुरा रुचिकरण नलागेको पनि हुनसक्छ । बीबीसीबाट

0 comments

Write Down Your Responses