ग्यासको कालोबजारी

काठमाडौ-जिल्ला प्रशासन कार्यालय काठमाडौका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले सबै प्रहरीलाई ग्यासको कालोबजारीको अनुगमन गर्ने अधिकार भएकोले १०० नम्बरमा टेलिफोन गरेर जो सुकैले पनि कालोबजारीलाई कारवाही गराउन सक्ने बताएका छन । रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा उनले भने–नजिकको ग्राहकलाई नदिएर कसैले टाढाकालाई ग्यास दिन्छ भने तुरुन्त १०० मा फोन गर्नुस । त्यसलाई कारवाही हुन्छ ।
 क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले जाडोमा बढी ग्यास खपत हुन्छ भन्ने थाहाँ हुँदा हुँदै नेपाल आयल निगमले ब्यवस्थापनमा सुधार ल्याउन नसकेकोमा आक्रोस ब्यक्त गर्दै अहिलेको अभाव निगमकै ब्यवस्थापिकीय कमजोरीको कारण भएको दावी गरे । उनले उद्योगी र ब्यापारीहरुले ग्यास स्टोकमा राखेर बार्गेनिङ्ग गर्दा पनि अभाव भएको भन्दै केही त्यस्तालाई कारवाही गरेको र अरुको पनि पहिचान गरेर कारवाही गर्ने प्रतिबद्धता ब्यक्त गरे । बाणिज्य विभागका निर्देशक हरिनारायण बेलवासेले आयल निगमको निरिहताको कारण जन्मेको अभावबाट ब्यापारीहरुले फाईदा लिएको दावी गर्दै कम्पनीहरुले धेरै बिक्री गर्नेलाई ग्यास दिने र थोरै उपभोक्तालाई विक्री गर्नेलाई नदिएको कारण अभाव उत्पन्न भएको बताए । 
 उनले विभागसँग कारवाहीको अधिकार नभएको भन्दै सबैलाई कारवाही गर्ने अधिकार भएपनि त्यसले केही सहजता ल्याउन सक्ने विश्वास ब्यक्त गरे । नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बरौनी रिफाईनरी बन्द भएकोले केही अभाव भए पनि अहिले आपूर्ति सुचारु भईसकेको भन्दै आपूर्ति सुचारु हुँदा समेत किन सहज हुन सकेन भन्ने कारणको खोजीमा आफुहरु रहेको बताए । उनले एक दुई दिनमा पुरै आपूर्ति गर्न भारतीय आयल निगमसँग कुरा भईसकेको भन्दै त्यसपछि पुरै सहज हुने दावी गरे । ग्यास बिक्रेता महासंघका महासचिव चन्द्रबहादुर थापाले ग्यास वितरणको मुहानै फोहोर भएको भन्दै मुहान सफा नगराउँदासम्म आपूर्ति सहज नहुने ठोकुवा गरे ।
 उनले उद्योगी र ठूला ब्यापारीहरुले पुराना विक्रेतालाई नदिई नयाँलाई दिने गरेकोले पनि समस्या उत्पन्न भएको दावी गरे । ग्यास बिक्रेता महासंघका निर्वतमान अध्यक्ष ज्ञानेश्वर अर्यालले ठूलो ब्यापारी र उद्योगीहरुले ट्रकका ट्रक ग्यास विक्री गरिरहेको भन्दै राज्यले ठूलालाई कारवाही नगरी सानाहरुलाई मात्र कारवाहीगरेर कारवाहीको नाटक रचेको आरोप लगाए । उनले तौल कम भएका ग्याँस बेच्ने कम्पनीलाई राज्यले कारवाही नगरेको तर साना व्यवसायीहरुलाई कारवाही गरेको भन्दै गुनासो गरेका थिए । उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले ग्यासमा कार्टेलिङ्ग भए पनि सरकारले केही गर्न नसकेको आरोप लगाए ।

0 comments

Write Down Your Responses