कविता; देशको क्यानभासबाट पोखिएका बिरंगहरु

- डा. मधु माधुर्य देखिरहेछु : माघ-८ को सतही व्याख्यामा – ढुंगा- मुढा, टाएर-आगो , लाठि-मुङ्ग्रो, बन्दुक… र फेटाहरु सल्बलाई रहेछन् जिन्दावाद-मुर्दावादको आदिम आवाजहरु ‘फर्मालिटि”को घन्किरहेका छन् आफ्नो नैतिकता र चेतनाको अन्तिम विकल्प – ” देश बन्द ” घोषणा गरिरहेका छन् नामर्दहरु ! लेन्डुप-मनधारी ठुटे राजा- रजौटाहरुको पुच्छरले बंग्याएको लोकतान्त्रिक ढुङ्ग्रो कुच्याई रहेका छन् मान्छेहरु युवाहरुलाई दिनहुँ विदेश लखेट्ने सुनियोजित सरकारी षड्यन्त्रपछि बाँकी रहेका कथित राजनीतिज्ञहरुको टाउकामा इतिहासले थुकेको दुर्गन्धित अभिशापको फोहोर हाम्रो अनमोल जीवनको सपना र विपना डुबाउँदै सकी-नसकी बागमती बगिरहेछ …. बाँकी यथास्थितिवादीहरु – आशावादी रमिते बनेर पशुपतिमा लाम लागिरहेछन् एकाबिहानै साउनमा फुटेको आँखा विछ्याउँदै गन्तव्यविहिन दिशातिर सोच्दै : “झार्छ कि साँढेले कतै संविधान-डल्लो” ! +++ ++++ +++ इस्ट-इन्डियन जंगेदेखि आजसम्मका उत्तरआधुनिक युरो-इन्डियन जंगेहरुको क्रेमाटोरिया अर्थात् अन्तिम कुरूक्षेत्रको एउटा सोचले गुँड खोजिरहेछ बाँकी नेपालीहरुको थकित/जीर्णप्राय:चेतनामा …. अनि…… नेपालीहरुले नै लेख्ने छन् दशगजा नढलेको नयाँ नेपालको स्वर्णिम चित्र र नेपाली संविधान !

0 comments

Write Down Your Responses