आज नेपाल वायुसेवा निगमको नयाँ जहाज आउँदै
काठमाडौँ - राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आइतबार अन्तर्राष्ट्रिय उडानका लागि नयाँ जहाज प्राप्त गर्ने भएको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि फ्रान्सेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरेको ए ३२०-२०० सिरिजको जहाज आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाएको छ।
जहाजको स्वागतका लागि विमानस्थलमा विशेष समारोहको आयोजना गरिने भएको छ । आइतबार बिहान ११ बजे जहाज विमानस्थलमा अवतरण हुनेछ । जहाजको स्वागत पञ्चकन्याले गर्ने र पण्डितले स्वस्ती बाचन गर्ने कार्यक्रम तय गरिएको निगमका महाप्रबन्धक मदन खरेलले जानकारी दिनुभयो। यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्य, यहाँस्थित फ्रान्सेली राजदुतलगायतले पञ्चेबाजा बजाएर जहाजको स्वागत गर्ने तयारी गरिएको छ । निगम र फ्रान्सेली जहाज निर्माता कम्पनी एयरबसबीच दुई जहाज खरिद–बिक्री सम्झौता गत वर्ष सम्पन्न भएको थियो।
निगम व्यवस्थापनले २०७० वैशाख ९ गते दुई जहाज किन्न प्रतिबद्धता रकम (बैना) स्वरुप पाँच लाख अमेरिकी डलर (त्यसबेलाको रु ४ करोड ३५ लाख ) एयरबसलाई पठाएको थियो । त्यसपछि गत जेठ २९ मा निगम र कर्मचारी सञ्चय कोषबीच रु १० अर्ब बराबरको ऋण आदान–प्रदान सम्झौता भएको थियो।
0 comments
Write Down Your Responses