राजतन्त्र र हिन्दू राष्ट्रको एजेण्डा छाडेको भन्दै समानान्तर संगठन
विराटनगर– राप्रपा नेपालका अध्यक्ष कमल थापा गणतन्त्रवादी कित्तामा हाम फालेको आरोप लगाउँदै असन्तुष्ट पक्षधरले पार्टीको सिद्धान्त रक्षा गर्न समानान्तर संगठन संचालन गर्नुपरेको बताएको छ । ‘संवैधानिक राजतन्त्र, हिन्दू राष्ट्र र अखण्ड नेपालसम्वद्ध पार्टीका धरोहर अक्षुण्ण राख्न अब छिट्टै देशब्यापी रुपमा समानान्तर संगठन निर्माण गरिनेछ । केन्द्र, जिल्ला, क्षेत्र र गाउँ तहसम्म गठन हुने समानान्तर सांगठानिक संरचनाले राप्रपा नेपालको मूलधार नीति र सिद्धान्त बोकेर अघि बढ्नेछ,’ राप्रपा नेपाल सुदृढीकरण अभियानका सचिव श्याम तिमिल्सिनाले पूर्वाञ्चलस्तरीय गोष्ठीलाई सम्बोधन गर्दै बताए । ं unnamed (1)संस्थापक नेता पद्मसुन्दर लावतीको नेतृत्वमा रहेको सुदृढीकरण अभियानले राप्रपा नेपाल नेतृत्व बिचलन र पलायनको गलत बाटोमा हिँडेर पार्टीलाई धराशयी बनाउने प्रयासमा रहेको आरोप लगाउँदै आएको छ । यसै अभियानलाई निरन्तरता दिने क्रममा शनिबार विराठनगरमा गोष्ठी आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै अभियानका केन्द्रीय सदस्य बालकृष्ण नेउपानेले संविधान नबनाउने खेलले सिक्कीमको झल्को दिएको भन्दै, ‘सिक्कीममा पनि यसैगरी राजतन्त्र फालेर, लोकतन्त्रको नारामा संविधान बनाउने भन्दै संविधान नबनाउने खेल चल्दै गर्दा सिक्कीम अन्ततः भारतमा बिलय भएको थियो । त्यसैले नेपालमा राष्ट्रियता रक्षा गर्न कमल थापाले अवसरवाद धरातलमा गिरेर लत्याएको पार्टीका सैद्धान्तिक धरोहर सच्चा राष्ट्रवादीहरुले काँधमा उठाएर हिड्ने अवस्था आइलागेको छ’ भने । प्रश्नावली समितिमा हाम फालेर कमल थापाले आफ्नो सक्कली चरित्र जनतासामु उदांगो पारेको नेता प्रल्हाद शाहले बताए । गणतन्त्रको पक्षसँग मोर्चाबन्दी गर्ने नाममा थापाले संवैधानिक राजतन्त्र सदाका लागि नामेट गर्ने षड्यन्त्रमा लागेको दाबी गरे । युवा नेता सगुनसुन्दर लावतीले राप्रपा नेपालभित्र दुईवटा सैद्धान्तिक धार विद्यमान रहेको बताए । ‘पद्मसुन्दर लावतीले नेतृत्व गरेको संवैधानिक राजतन्त्र र कमल थापाले नेतृत्व गरेको गणतन्त्रको धार पार्टीभित्र कायम छ । यो अवस्था प्रश्नावली समितिको प्रकरणले प्रमाणित गरेको छ । त्यसबाहेक प्रश्नावली समितिमा नाम पठाई सकेको अवस्थामा सो सम्बन्धी मतदान हुँदा तटस्थ बसेर राप्रपा नेपाल नेतृत्वले राजनैतिक बेइमानी ग–यो । यो नैतिक पतनको पराकाष्टा हो । गणतन्त्रमा गइसकेर पूराफर्क गर्नमा भने दुईवटा कारण छन् । एउटा सरकारी गठबन्धनले मन्त्रालय नदिनु, अर्को सुदृढीकरण अभियानबाट दिइएको राजनैतिक दवाब,’ लावतीले भने । कार्यक्रममा दिलबिकास राजभण्डारी, शोभा तिमिल्सिना, बमबहादुर बिश्वकर्मा, डम्बरबहादुर कार्की, लिलाबहादुर तुम्बाहाम्फे, जाकिर हुसैन, नेत्रप्रसाद लावती, धर्मराज नेम्बाङ र प्रजापति कोइरालाले मन्तव्य राखेका थिए ।
0 comments
Write Down Your Responses