हिंसा, असुरक्षा र बेथितिमा किन बोल्दैनन् संसदीय समिति
जनतासँग सरोकार राख्ने विषयमा मौन
काठमाडौं, पछिल्ला दिनमा देखिएका हिंसा, असुरक्षा र बेथितिका केही दृष्टान्त हुन् यी जुन संसदीय समितिले प्रत्यक्ष हेर्नुपर्ने विषयअन्तर्गत पर्छन्। तर, क्षेत्राधिकार नाघेरसमेत हात हाल्ने गरेका संसदीय समितिहरू भने जनतासँग सरोकार राख्ने यस्ता महत्वपूर्ण विषयमा भने मौन देखिएका छन्। सरकारलाई व्यवस्थापिका संसदप्रति उत्तरदायी र जवाफदेही बनाउने निकाय संसदीय समिति नै पछिल्ला दिनमा प्रभावकारी नहुँदा जनताका प्रत्यक्ष सरोकारका विषय उठ्न नसकेका हुन्।
विपक्षी दलका लागि संसदीय समिति भरपूर उपयोग गर्नुपर्ने थलो हो, तर विपक्षी दलका सांसदहरू करिब डेढ महिनादेखि उपस्थित नै भएका छैनन्।
व्यवस्थापिका संसदको राज्य व्यवस्था समिति बैठकमा सत्तापक्षका सांसदहरूले नै राजधानीमा तीन किशोरीमाथि आक्रमण भएको यतिका दिन बित्दा पनि आक्रमणकारी पक्राउ गर्न सरकार असफल भएको भन्दै गृहमन्त्रीलाई तत्काल बोलाएर जानकारी गराउन निर्देशन दिनुपर्ने माग गरेका थिए। तर, सभापति दिलबहादुर घर्तीले अर्को सूचना नआएसम्मका लागि भन्दै समितिको बैठक नै स्थगित गरिदिए।
समितिले अर्को बैठकमा गृहमन्त्री वामदेव गौतमलाई बोलाउने निर्णय गरे पनि कहिले बोलाउने भन्ने टुंगो लागेको छैन। तर, समितिका सचिव एवं संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले भने आवश्यकताअनुसार समितिको बैठक बसेको जनाउँदै मुलुकको समग्र शान्ति सुरक्षाका विषयमा केही दिनभित्रै छलफल गरिने बताए। @ नागरिक दैनिक
0 comments
Write Down Your Responses