‘सरकार यत्तिका दिन के हेरेर बस्यो?'
काठमाडौं-एसएलसी ट्युसन पढिरहेका तीन किशोरीमाथि आइतबार कक्षाकोठामै भएको एसिड हमलामा संलग्न अपराधी पहिचान गरी छिटोभन्दा छिटो कारबाही गर्न सरकारमाथि चौतर्फी दबाब परेको छ।
बुधबार व्यवस्थापिका संसदको राज्यव्यवस्था समिति बैठकमा सत्तापक्षकै सभासदले घटना अनुसन्धान र दोषी पहिचानमा उदासीन रहेको भन्दै सरकारको तीव्र आलोचना गरेका छन्।
राजधानीको मुख्य भागमा किशोरीमाथि एसिड आक्रमण भएको चार दिन बितिसक्दा पनि आक्रमणकारी पक्राउ गर्न नसक्नु सरकारको असफलता भन्दै उनीहरूले बैठकमा प्रश्न गरेका थिए, ‘यतिका दिनसम्म सरकार के हेरेर बसेको छ?'
सभासदहरूले घाइते किशोरीको उपचार र भविष्यको जिम्मा लिन सरकारसँग मागसमेत गरेका छन्। आक्रमणमा संलग्नलाई तत्काल कारबाही गर्न सरकारलाई तत्काल निर्देशन दिनुपर्ने उनीहरूको धारणा थियो। समितिका सभापति दिलबहादुर घर्तीले मुलुकको शान्ति सुरक्षाबारे अर्को बैठकमा छलफल गर्ने भन्दै उक्त बैठकमा गृहमन्त्री वामदेव गौतमलाई समेत बोलाउने आश्वासन समितिका सदस्यहरुलाई दिएका थिए।
‘दुई किशोरीमाथि एसिड आक्रमण भएको यतिका दिन बितिसक्दा पनि सरकारले आक्रमणकारी पक्राउ गर्न सकेको छैन,' कांग्रेस सभासद नवीन्द्रराज जोशीले भने, ‘उनीहरुको पारिवारिक अवस्था पनि कमजोर छ। उपचारको सम्पूर्ण खर्च राज्यले बेहोर्नुपर्छ र भविष्यको जिम्मा पनि सरकारले लिनुपर्छ।' उनले उपचारमा कुनै कन्जुस्याइँ नगर्नसमेत आग्रह गरे।
एमाले सभासद गौरीकुमारी ओलीले एसिड आक्रमणमा संलग्नलाई तत्काल कारबाही गर्न माग गरिन्।
‘संलग्न अपराधीलाई तत्काल कारबाही हुनुपर्छ,' उनले भनिन्, ‘कारबाहीका लागि सरकारलाई आजै निर्देशन दिनुपर्छ। ढिलाइ गर्नुहुँदैन।'
एमालेकै रामेश्वर फुयाँलले एसिड आक्रमणमा परेका बालिकाको उपचार खर्च राज्यले बेहोर्नुपर्ने माग गरे। ‘एसिड आतंकमा परेका बालिकाको ध्यान राज्यले दिनुपर्छ,' उनले भने, ‘अहिलेसम्म राज्य गम्भीर बनेको देखिएन।'
नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापामगरले अपराधीलाई सजाय नदिँदा अन्य चेलीहरुले पनि असुरक्षित महसुस गरेको बताइन्। ‘हामीले महिला हिंसा र बलात्कार गर्नेहरुलाई मृत्युदण्ड दिनुपर्छ भन्ने आवाज पहिलेदेखि नै उठाएका हौं,' उनले भनिन्, ‘एसिड आक्रमण गर्नेलाई तुरुन्त कारबाही हुनुपर्छ।'
चौतर्फी दबाबपछि संयुक्त अनुसन्धान टोली
घटनाको चार दिनसम्म आक्रमणकारी पत्ता लाग्न नसकेको भन्दै विरोध प्रदर्शन र प्रहरीको आलोचना बढेपछि प्रहरी महानिरीक्षक आफैंले घटना अनुसन्धानप्रति चासो दिएका छन्।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल बुधबार महानगरीय प्रहरी परिसर, काठमाडौंको हुनमानढोकास्थित कार्यालय पुगेर घटनाबारे जानकारी लिए। उनले अनुसन्धान दायरा फराकिलो पार्दै महानगरीय प्रहरी परिसर र अपराध अनुसन्धान महाशाखालाई समेत अनुसन्धानमा सक्रिय हुन निर्देशन दिएका छन्। अहिलेसम्म उक्त घटना महानगरीय प्रहरी वृत्त, जनसेवाले मात्र अनुसन्धान गर्दै आएको थियो।
‘दोषीलाई छिटो पक्राउ गर्न सर्वत्रबाट आवाज आइरहेका बेला वृत्त एक्लैले अनुसन्धान गर्न सम्भव छैन,' परिसरमा छलफल क्रममा अर्यालले निर्देशन दिँदै भने, ‘सबै निकायको सहयोगमा अनुसन्धान अगाडि बढाउनू।'
अर्यालसँगै अपराध अनुसन्धान विभागप्रमुख एआइजी सुरेन्द्रबहादुर शाह र महानगरीय प्रहरी आयुक्त कार्यालय प्रमुख एआइजी विज्ञानराज शर्मा पनि हनुमानढोका पुगेका थिए। छलफल क्रममा आयुक्त कार्यालयप्रमुख शर्माले अनुसन्धानका लागि पाँच सदस्यीय समिति गठन गरेको जानकारी दिएका थिए।
शर्माका अनुसार आक्रमणकारीलाई पक्राउ गर्न र अनुसन्धान थप तीव्र र चुस्त बनाउन आयुक्त कार्यालयले अपराध अनुसन्धान महाशाखाकी एसपी मीरा चौधरीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। समितिमा काठमाडौं परिसरकी डिएसपी दिनेश आचार्य, जनसेवाका डिएसपी वेद विष्ट, अपराध महाशाखाकी डिएसपी शिशु शर्मा र महानगरीय प्रहरी महिला बालबालिका सेवा केन्द्रकी इन्स्पेक्टर पूर्णिमा चन्द सदस्य छन्।
डिएसपी विष्टका अनुसार हालसम्म ४० जना भन्दा बढीसँग घटनाबारे सोधपुछ भइसकेको छ। ‘हामीले हरेक कोणबाट अनुसन्धान गरिरहेका छौं,' उनले भने, ‘आक्रमणकारीका धेरै विवरण संकलन भइरहेकाले केही शंकास्पद व्यक्तिमाथि निगरानीसमेत गरिरहेका छौं।'
प्रहरीले किशोरी र स्थानीयले दिएको हुलियाका आधारमा आक्रमणकारीको सम्भावित अनुहारचित्र (स्केच) बुधबारै सार्वजनिक गरेको छ।
उपचार खर्च सरकारले बेहोर्ने
एसिड आक्रमणबाट घाइते दुई किशोरीको सम्पूर्ण उपचार सरकारले बेहोर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले बुधबार तत्कालका लागि २०/२० हजार रुपैयाँ उपलब्ध गराएको र उपचार क्रममा लाग्ने सबै खर्च उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस पठाएको प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले जानकारी दिए। उनका अनुसार महिला हिंसापीडित राहत कोषबाट २०/२० हजार रुपैयाँ उपलब्ध गराइएको हो।
‘उपचार खर्च उपलब्ध गराउने निर्णय मन्त्रिपरिषदबाट हुनुपर्ने भएकाले सिफारिस बनाएर मन्त्रालय पठाइसकेका छौं,' उनले भने, ‘उपचारमा कुनै कमी हुन नदिन हामीले अस्पतालहरुसँग समेत आग्रह गरिसकेका छौं।'
वसन्तपुर, पुण्यबहालस्थित ए–प्लस ट्युसन सेन्टरमा आइतबार बिहानै भएको एसिड प्रहारबाट संगीता पुलामी मगर र सीमा बस्नेत घाइते भएका थिए।
0 comments
Write Down Your Responses