सबैले बराबर अधिकार पाउनुपर्छ
रानी शर्मा तिवारी
‘मधेश’ नेपालमा बलपूर्वक गाँभियो वा अङ्ग्रेजले उपहारस्वरूप नेपाली शासकलाई बुझाए, त्यस विषयमा विभिन्न तर्क वितर्क हुने गरेका छन् । तर, मधेश कसरी नेपालको हिस्सा बन्यो वा बनाईयो भन्दा पनि मधेश नेपालमा गाँभिए पछि के भयो र हाल के भइरहेको छ भन्ने महत्वपूर्ण छ । नेपाली शासकहरूले मधेशको जमिन, जंगल र मानव संशाधनको व्यापक दोहन त गरे, तर त्यहाँको धर्म, भाषा, संस्कृतिको विकास गर्नुको सट्टा उल्टो मधेशको धर्म, भाषा, संस्कृतिलाई समाप्त पार्नमा लागे । प्रशासनदेखि राजनीतिक ओहदामा समेत मधेशका समुदायको उपस्थिति नगण्य नै रह्यो । मधेशमा बोलिने हिन्दी, थारू, मैथिली, बज्जिका, भोजपुरी, अवधी, संथाली, उर्दु लगायतका भाषालाई नेपालको भाषा सरह व्यवहार नै गरिएन ।
राजधानी लगायतका पाहाडि स्थानमा र मधेशकै पाहाडि बाहुल क्षेत्रमा समेत मधेशी समुदायलाई अपमानजनक व्यवहार गर्ने गरेको र मदिसे, धोती, बिहारी इत्यादी अपमानजनक र राष्ट्रियतामाथी नै प्रश्न उठ्ने सम्बोधन गर्ने गरेको पनि ईतिहास धेरै पुरानो छैन । मधेशका रैथाने बासिन्दाहरूलाई आफ्नै भुमिमा विदेशी सरह व्यवहार लगातार भइरह्यो । राज्य र शासक वर्गको व्यवहारबाट आजित भएका मधेशी जनताको संगठित भई अधिकारका लागि लड्ने चाहनाले २०१५ सालबाट २०४७ साल हुँदै २०६३ सालको मधेश विद्रोहमा मूर्त रूप लिएपछि राज्य मधेशसँग सम्झौता गर्न बाध्य भयो ।
राज्य पक्ष र मधेश बिच सम्झौतासँगै मधेश प्रदेश स्थापना लगायत मधेशका मुद्दाहरू सम्बोधन हुने आशा मधेशमा पलाएको थियो । मधेशसँग राज्यले सम्झौता गरे पछिका शुरूवातका दिनमा साशक वर्गको प्रतिनिधित्व गर्ने पार्टीहरूले पनि मधेश र मधेशी प्रतिको बोली र व्यवहारमा केही परिवर्तन गरेका देखिन्थे । फलस्वरूप ती दल (काँग्रेस र एमाले)का कार्यकर्ता र तिनका समर्थक शासक समुदायका जनतामा समेत मधेश र मधेशीप्रति सार्वजनिक रूपमा अपमानजनक व्यवहार र शब्द प्रयोगमा कमी आएको थियो । तर, जब दोस्रो संविधानसभाको निर्वाचनमा ती दलहरूको अवस्था मधेशमा केही सुदृढ भयो, तिनको पुरानो रवैया फेरि फर्कियो ।
के.पी. ओलीले पटकपटक मधेशी समुदायलाई अराष्ट्रिय तत्व भन्ने गरेका छन् । साथै उनले चार शक्तिको बैठकमा मधेशलाई युपी बिहारसँग जोडेको घटना ताजै छ । यती मात्र होइन काँग्रेस एमालेका नेताहरू पटक पटक मेधेशीहरूले नेपाललाई रूवाण्डा बनाउन खोजेको, फिजिकरण गर्न खोजेको अभिव्यक्ति दिएर पाहाडी समुदायका जनतामा मधेशी समुदायप्रति नकारात्मक भावना फैलाइरहेका छन् । उनीहरू आफ्ना पहाडी समुदायका कार्यकर्तालाई पनि सोही भावनाको प्रशिक्षण दिइरहेका छन् । उनीहरूको यस कार्यको नकारात्मक असर समाजमा देखिन थालेको छ । काठमाण्डूमा शुषुप्त अवस्थामा रहेको मधेशी माथीको अपमानजनक व्यवहार र सम्बोधन के.पी.ओलीहरूकै भाषामा बाहिर आउन थालेको छ ।
मधेशी समुदायका आम जनता मात्र होइन नेताहरूलाई समेत देख्ने बितिकै बिहारी, मदिसे जस्ता शब्द फेरि उच्चारण हुन थालेका छन् ।
आधा सगरमाथा, टिंकर पारीको भूमि, विभिन्न नदिनाला विदेशीलाई सुम्पेका काँग्रेस एमालेका नेताहरूले नेपालमा सुसुप्त हुन थालेको शासकीय मनोवृत्तिको साम्प्रदायिकता पुनः भड्काएर कसलाई फाईदा पुर्याउन चाहन्छन् उनैलाई थाहा हुने कुरा हो । जब अधिनायकवादीहरू आफ्नो सत्ता बचाउन चाहन्छन् वा गुमेको सत्ता प्राप्त गर्न चाहन्छन् तिनले देशमा साम्प्रदायिकता फैलाएर गृह युद्ध भड्काएर, उग्रराष्ट्रवाद फैलाएर सत्ता बचाउने वा सत्तामा फर्किने प्रयत्न गर्छन् ।
काँग्रेस एमालेका नेताहरू के चाहिरहेका छन् बुझन गाह्रो छ । के.पी. ओली र उनका अनुयायी एमाले काँग्रेसहरूले रूवाण्डा बनाउन खोजेको, नेपाललाई फिजिकरण गर्न खोजेको आरोप मधेशीमाथि लगाउनु अगाडि रूवाण्डाको इतिहास राम्रोसँग पढ्नु पर्दछ । रूवाण्डामा रक्तपात सत्ताधारी वर्गले गर्यो वा अधिकार खोजिरहेकाले बुझ्न जरूरी छ । फिजीकरणबारे पनि स्पष्ट हुन जरूरी छ ।
रूवाण्डाको इतिहासलाई पल्टाएर हेर्दा बेल्जियमको उपनिवेशबाट जुलाई १९६२ मा स्वतन्त्र भएको मध्यपुर्वी अफ्रिकी राष्ट्र रूवाण्डामा १९७३ देखि बहुसंख्यक (८४ प्रतिशत जनसंख्या रहेको) हुटुहरूको शासन चलिरहेको थियो । अल्पसंख्यक (१४ प्रतिशत जनसंख्या रहेको) टुट्सी समुदाय आफ्नो समुदायको सत्तामा साझेदारी हुनुपर्ने र बेल्जियमबाट स्वतन्त्र हुनु अगावै सन् १९५९ मा रूवाण्डाबाट हुटुहरूद्वारा लखेटिएका ३ लाखभन्दा बढी टुट्सीहरूलाई रूवाण्डा फर्काउनु पर्ने माग गरिरहेको थियो । यसै बिच सन १९९४ अप्रिल ६ का दिन रूवाण्डाका तत्कालीन हुटु राष्ट्रपति हाब्यारिमाना र बुरूण्डीका राष्ट्रपति चढेको विमान गोली हानी रूवाण्डाको राजधानी किगालीमा खसालिएपछि रूवाण्डामा नरसंहार शुरू भएको थियो । धेरैजसो इतिहासकारले सो विमान हुटु समुदायका अतिवादीहरूले खसालेको उल्लेख गरेका छन् । राष्ट्रपतिको विमान खसालिएको एक घण्टाभित्र राष्ट्रपतिको सुरक्षाका लागि रहेको प्रेसिडेन्सियल गार्डले रूवाण्डा सशस्त्र बल र हुटु मिलिसियासँग मिलेर टुट्सी र नरमपन्थी हुटु (उनीहरूको शब्दमा अशुद्ध हुटु) हरूको हत्या शुरू गर्यो जसमा नरमपन्थी हुटु प्रधानमन्त्रीको समेत हत्या गरियो । राजधानी किगालीबाट शुरू भएको आम नरसंहार चाँडै देशभरि फैलियो । उक्त नरसंहारमा हुटु समुदायका मेयर, राजनीतिज्ञ, सरकारी उच्च पदस्थ कर्मचारी लगायतकाहरूको संलग्नतामा ८० दिनमा करिब ८ लाख अल्पसंख्यक टुट्सीहरूको हत्या गरिएको थियो । यस घटनामा करिब ३ चौथाई टुट्सी जनसंख्याको आमहत्या सरकारी संरक्षणमा भएको थियो । अल्पसंख्यक टुट्सीहरूको हत्याका लागि आम हुटुहरूलाई उक्साउन सरकारी रेडियोको पनि व्यापक प्रयोग गरिएको थियो । आमहत्याको प्रतिकारमा उत्रेको तथा पहिलेदेखि नै टुट्सी अधिकारका लागि लडिरहेको रूवाण्डिज पेट्रियोटिक फ्रन्टले अन्तर्राष्ट्रिय हस्तक्षेपपछि सत्ता कब्जा ग¥यो, तर सरकार बनाउँदा हुटुलाई राष्ट्रपति र टुट्सीलाई उपराष्ट्रपति बनाइयो । के.पी. ओली जस्ता नेताहरूले इतिहास नबुझिकन नै बोले होलान् भन्ने सोच्नु पनि उहाँहरूको अवमुल्यन हुनेछ । बुझेको मान्छेले पटकपटक मधेशी÷मधेशवादीहरू नेपाललाई रूवाण्डा बनाउन खोज्दैछन् भन्ने उद्घोष गर्नु मधेशलाई अराष्ट्रिय भन्नका लागि नभई सरकारी संयन्त्रको दुरूपयोग गरी रूवाण्डाका टुट्सी जस्तै मधेशीहरूको आम नरसंहार गरिदिने धम्कीे दिइरहेका त छैनन् भन्ने आशंका उब्जेको छ । कतै सत्ताको उन्मादमा साम्प्रदायिक घृणाको पराकाष्ठा पुर्याएर रूवाण्डाका हुटु अतिवादीझैं कुनै कहाली लाग्दो साम्प्रदायिक दंगा र मधेशीहरूको नरसंहारको तानाबाना बुनिरहेका त छैनन् के.पी. ओली र उनकै प्रवृतिका सत्ताधारी समुदायका अतिवादी नेताहरू ? आम नेपालीहरू सतर्क हुन जरूरी छ ।
के.पी. प्रवृत्तिका नेताहरूले प्रयोग गर्ने “मधेशीहरू नेपाललाई फिजिकरण गर्न खोज्दैछन्” भन्ने अभिव्यक्तिको विषयमा कुरा गर्नु अगाडि फिजिकरणबारे चर्चा गर्नु आवश्यक छ । करिब ३३२ वटा सानासाना टापु मिलेर बनेको र तीमध्ये करिब ११० वटामा स्थायी मानव बसोबास रहेको दक्षिण प्रशान्त क्षेत्रको राष्ट्र फिजीमा करिब साढे आठ लाख मानिस बसोबास गर्छन् । जसमध्ये करिब ४० प्रतिशत जनता १९औं र २०औं शताब्दीमा भारतबाट बसाई सरेका इण्डो फिजियन समुदाय (भारतीय मूल)का छन् भने बाँकी फिजिका आदिवासी भूमिपुत्र÷पुत्रीहरू छन् । १९ मे १९९९ मा भारतीय मूलका केही पुस्ता अघिबाट फिजीमा आएर बसोबास गरेका मध्येका महेन्द्र चौधरी आम चुनाव जितेर फिजीको प्रधानमन्त्री बनेका थिए जसलाई २७ मई २००० का दिन सैनिक विद्रोह गरी हटाइएको थियो । यही भारतीय मूलको अर्थात् बाहिरबाट आएका (गैरआदिवासी) फिजीको प्रधानमन्त्री बनेको घटनालाई केही अतिवादी के.पी. प्रवृतिका पहाडी सत्ताधारीहरूले फिजिकरण भन्ने गरेका छन् । उनीहरूको तथाकथित फिजिकरणलाई केलाउँदा उनीहरूकै अनुसार बाहिरबाट पछिल्लो चरणमा आएका आप्रवासीले कुनै देशको शासन सत्तामा कब्जा जमाउनु फिजिकरण हो । त्यसो हो भने फेरि नेपालमा सबैभन्दा पछिल्लो चरणमा बाहिरबाट आएको समुदाय भनेको हाल सत्तामा कब्जा जमाएर बसेको खस समुदाय हो, जसको नेपालमा ४०० वर्ष भन्दा पुरानो इतिहास छैन । नेपालका खस आर्यहरूको थाकथलो खोज्दै जाँदा भारतमै भेटिन्छ । अझ मधेशका विभिन्न नेताको थाकथलो भारत रहेको कपोलकल्पित भ्रम आफ्ना कार्यकर्ताको माध्यमबाट विभिन्न विद्युतीय सामाजिक सञ्जालमा प्रचार गरिरहेका अधिकांश सत्ताधारी नेताहरूको जन्म भारतमा भएको, बाल्यकाल भारतमा बितेको वा नेपालमा एक पुस्ताभन्दा बढीको इतिहास नरहेको विषयवस्तु कुनै मधेशी वा जनजातिले विवादको विषय बनाएका छैनन् । मधेशीहरूको अस्तित्व नेपालको मधेश भूमिमा पौराणिक कालदेखि रहीआएको छ । कपिलवस्तु, मिथिला, तिरहुत, विराट, सहलेश जस्ता राज्यहरू मधेशीका नै थिए । त्यहाँका शासक र जनता दुवै मधेशी समुदायकै थिए । त्यतिमात्र होइन काठमाण्डूका प्रथम वस्ती बसाल्ने समुदाय, शुरूवातका जनता र शासक पनि मधेशीहरू नै थिए । यसको प्रमाणको रूपमा कालान्तरमा नेवार समुदायको रूपमा स्थापित काठमाण्डूका रैथाने समुदाय र मधेशी संस्कृति बीचको व्यापक समानतालाई लिन सकिन्छ । पहाडका जनजातिहरू पनि यस भूमिमा खस आर्यहरू भन्दा हजारौं वर्ष पहिलादेखि बसोबास गर्दै आएका छन् । शासक वर्गका अतिवादीहरू फिजीकरणको नारा दिएर जनजातिहरूलाई भ्रमित गरी मधेशी विरूद्ध प्रयोग गर्ने रणनीतिमा छन् । वास्तवमा सत्ताधारीहरूकै व्याख्यालाई मान्ने हो भने नेपालमा मधेशीहरूले फिजिकरण गर्न खोजेको होइन, बरू नेपाललाई खस आर्य वर्गका शासकहरूले साढे दुई सय वर्ष अगाडिदेखि फिजिकरण गरेका छन् । तर मधेशका आदिवासी मधेशी र पहाडका आदिवासी जनजातीहरू यस्ता उग्र नारा दिने पक्षमा छैनन् । मधेशी र जनजातिहरू फिजीका रैथाने आदिवासीले जस्तो अतिवादको पक्षमा छैनन् । मधेशी र आदिवासीहरू सत्तामा आप्mनो हिस्सेदारी मात्र चाहन्छन् । उनीहरू बाहिरबाट सबैभन्दा पछिल्लो कालखण्डमा नेपाल बसाई सरेका खस आर्यहरूलाई पनि उति नै अधिकार र सम्मान दिन तयार छन् । नेपालमा फिजिकरणको खतरा होइन सत्ताधारीहरूलाई फिजिकरणबाट भूमिपुत्र मधेशी र आदिवासीले नेपाललाई मुक्त गराउँदा आफ्नो सत्ता गुम्छ भन्ने डर छ अतिवादी शासकहरूलाई ।
अनादीकालदेखि नेपालमा रहेका मधेशका मधेशी हुन् वा पहाडका जनजाति, नेपाल उपत्यकाका नेवार वा सबैभन्दा पछिल्लो चरणमा नेपाल प्रवेश गरेका खस आर्य सत्ताधारीहरू, नेपाल सबैको साझा हो ।
यहाँ सबैले बराबर अधिकार प्रयोग गर्न पाउनु पर्दछ । मधेश होस् वा पहाड, खस आर्य हुन् वा जनजाति सबैको राष्ट्रियता, भाषा संस्कृतिको बराबर सम्मान हुनुपर्दछ भन्ने माग मात्र गरिरहेका छन् मधेशी र जनजातीहरूले । तसर्थ कसैलाई सत्तामा पु¥याउन वा सत्ता टिकाइराख्न साम्प्रदायिकता भड्काउने र दंगा गराउने नियतबाट प्रेरित अतिवादका कुरा गर्नु कसैका लागि हितकर हुँदैन ।
रूवाण्डाको नरसंहारले न हुटुलाई फाईदा भो न टुट्सीलाई, फिजीको सैनिक कु बाट कहिले नमेटिने खाडल खनियो फिजीका दुई प्रमुख समुदायका बिचमा । तसर्थ सत्ताधारी पार्टीका नेताहरूले अतिवादी कुरा गरेर देशमा गृहयुद्धको वातावरण बनाउने भन्दा देशमा समावेशी लोकतन्त्र स्थापनामा सहयोग गरी विकासको दिशामा अग्रसर हुने वातावरण बनाउनु सबैको हितमा हुनेछ । (लेखक तराई मधेश सद्भावना पार्टीकी उपाध्यक्ष हुन्)
0 comments
Write Down Your Responses