लाठी र भाटा बोकेर प्रदर्शनकारी गल्ली र बजारमा

बारा । आफ्नो समाचार पहिलो पृष्ठमै नछापेको भन्दै बारामा प्रदर्शनकारीले आज शुक्रबार ९ बजे कान्तिपुर पब्लिकेसन्सको गाडी जलाएका छन् । सिमरामा थप मालपोत कार्यालय राख्ने निर्णयविरुद्ध उत्रिएका प्रदर्शनकारीले चितवनबाट पत्रिका बोकेर आएको लु १ च ४३३६ नम्बरको महिन्द्र गाडी कलैयामा आगजनी गरेको प्रत्यक्षदर्शीले बताए । गाडीमा सुरक्षा दिन गएका प्रहरीसँग केहीबेर प्रदर्शनकारीको झडप भएको थियो । उनीहरुले प्रहरीलाई छल्दै गाडी ठेलेर केही पर लगी आगजनी गरेका थिए । 

प्रदर्शनकारीले पत्रिका पसलबाट लगेर कान्तिपुरका झण्डै ४० प्रति पत्रिका जलाए । कलैयासँगै सिमरामा समेत थप मालपोत कार्यालय राख्ने निर्णयविरुद्ध उद्योग वाणिज्य संघ उत्रेपछि ६ दिनदेखि सदरमुकाम कलैया अस्तव्यस्त भएको छ । विरोधमा ऐक्यबद्धता जनाउँदै राजनीतिक दलका नेता, कार्यकर्ता र लेखापढी व्यवसायी संघ प्रदर्शनमा उत्रेका छन् । उनीहरू निर्णय फिर्ता लिनुपर्ने माग गर्दै दिनहुँ आक्रामक शैलीमा लाठी र भाटा बोकेर यहाँका गल्ली गल्ली र बजारमा घुम्न थालेका छन् ।त्यसैगरि हिजो बिहीबार पनि प्रदर्शनकारीहरुले कान्तिपुर र अन्नपुर्ण सहितका केही राष्ट्रिय दैनिक पत्रिका जलाएका थिए । -

0 comments

Write Down Your Responses