देशविदेशका छ जनालाई नइ पुरस्कार
नइ प्रकाशनले विविध क्षेत्रमा समर्पित भई आआफ्ना ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने देशिवदेशका छ जना प्रतिभालाई २०७१ सालको नइ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । ताम्रपत्रसहित यी पुरस्कार जनही पचास हजार रूपियाँ राशिका छन् । नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो । नइ भूपालदुर्गा पुरस्कार आध्यात्मिक दर्शन, चिन्तन र जागरणमा सदैव समर्पित बोधिसत्व स्वामी श्री आनन्द अरुणलाई समर्पण गर्ने निर्णय गरिएको छ ।
नइ चन्द्रधन पुरस्कार धर्म, संस्कृति र अन्वेषणमा विशिष्ट योगदानका लागि प्रा.डा.वीणा पौडेललाई समर्पण गर्ने निर्णय भएको छ । नेपाली भाषामा कविताको स्तरीय सृजना गर्दै समालोचनाका माध्यमबाट समेत देशदेशान्तरमा नेपाली भाषाको गरिमा बढाएबापत वनारस हिन्दू विश्वविद्यालयका सहप्राध्यापक डा.सञ्जय वान्तवालाई नइ ईश्वरवल्लभ पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । राजधानी बाहिर बसेर पनि नेपाली भाषासाहित्यको स्तरीय सृजनामा समर्पित झापाका श्री तेजराज खतिवडा (तेराख)लाई नइ धनरुप पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । विदेशमा रहेर नेपाली भाषा र साहित्य सृजनामा सदैव जागरूक अमेरिकाका शरद निरौला र मञ्जु हाडा निरौलालाई संयुक्त रुपमा नइ गणेशदुर्गा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।
नइ प्रकाशनले तीन चरण गरेर हरेक वर्ष एघार लाख रूपियाँ राशिका छब्बीस ओटा पुरस्कार प्रदान गर्दै आएको छ ।
0 comments
Write Down Your Responses