बन्दले सार्वजनिक यातायातमा दैनिक ७० करोड नोक्सान
बन्द–हड्तालका कारण समग्र जनजीवनमा पर्ने नकारात्मक असर त छंदैछ, सवारी साधन चल्न नपाउँदा सार्वजनिक यातायातमा मात्रै एकदिनमा करिब ७० करोड रुपैयाँ नोक्सान हुने व्यवसायीको दावी छ ।
देशभर साढे १२ लाख सार्वजनिक यातायातका साधन सञ्चालनमा छन् भने दैनिकरुपमा ३ लाख सार्वजनिक सवारी साधन सडकमा गुड्छन् । व्यवसायीका अनुसार ९८ प्रतिशत सवारी साधन बैंक तथा वित्तीय संस्थाको ऋण लगानीमा चलेका छन् । सार्वजनिक यातायातको क्षेत्रमा करिब ३ खर्ब रुपैयाँ स्वदेशी व्यवसायीको लगानी भएको छ ।
हड्तालले गाडी चल्न नपाउँदा ऋणको ब्याज र बन्दकै कारण ब्याज तिर्न ढिलो हुँदा लाग्ने जरिवाना, मजदुरलाई दिनुपर्ने तलब,राज्यलाई अग्रिम बुझाइएको कर समेत गर्दा एकदिनमा देशभर गरी करिब ७० करोड रुपैयां नोक्सान पुग्ने यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय महासचिव सरोज सिटौला बताउँछन् ।
‘यातायात व्यवसायीले गाडी चलेपनि, नचले पनि १५ प्रतिशत कर अग्रिम बुझाएका हुन्छन्’–महासचिव सिटौलाले भने–’२ सय प्रतिशत भन्दा बढी भन्सार कर र महगो ब्याजदरमा गाडी खरिद गरेका व्यवसायीहरु गाडी चलाउन नपाउंदा बैंक ऋणको ब्याज, जरिवाना, काम विनै मजदुरलाई तलब दिनुपर्दा ठूलो मारमा परेका छन् ।’ विभिन्न राजनीतिक दलले गर्ने बन्द हड्तालका बेला राज्यका निकायले गाडी नचलाए रुट परमिट नै खारेज गरिदिने चेतावनीसहित जबरजस्ती सवारी साधन चलाउन लगाउने र बन्दकर्ताले तोडफोड र आगजनी गरिदिने गर्दा व्यवसायीहरु दोहोरो चेपुवामा परेको महासचिव सिटौला बताउँछन् । हालसम्म बन्द हड्ताल र द्वन्द्वका कारण सयौं सवारी साधनमा अर्बौं रुपैयाँको क्षति भएपनि राज्यबाट क्षतिपुर्ति नपाएको सिटौलाको गुनासो छ ।
-


0 comments
Write Down Your Responses